मेरो (एक) मित्रको एउटा कुरा मलाइ सार्है रमाइलो लाग्थ्यो, परिक्षाको परिणाम आए पछी उसको बुवाले सधैं सोध्नु हुन्थ्यो रे : “ए तेरो कति आयो?” मित्रले आफ्नो परिणाम बताए पछी फेरी सोध्नु हुन्थ्यो “अनी तँ सँग हिँड्ने फलानो साथीको नि ?” यदि साथीको बढि आएको छ भने “सँगै हिँड्ने साथीको त्यति आएको रहेछ, तेरो किन कम” भन्नु हुने रहेछ । यदि साथीको कम आएको छ भने “संगत त त्यस्तो रहेछ, अनि तेरो के राम्रो हुन्थ्यो र” भन्नु हुने रहेछ । जे गरे पनि सुख नहुने ।
कहिले कंही मैले नेपालको घटनाक्रमहरुलाई हेर्ने आँखा मेरो साथीको बुवाको जस्तै भयो कि जस्तो लाग्छ । मेरो पछील्लो पोस्टमा RT को कमेन्ट पछी मलाई यो कुरा को आभास अझ बढि हुन थालेको हो । यो कुरामा कुनै शंका छैन कि नेपालमा हुनु पर्ने सुधार हुन सक्ने गतिमा भैरहेको छैन, तर सुधार नै नभएको भने पक्कै होइन । पाकिस्तान र जिम्बाबे मा भन्दा नेपालमा नै बढि स्थिरता छ होला । संसारमा अरु धेरै देशहरु पनि छन्, नेपाल जति पनि प्रगती गर्न नसकेका । तर मेरो मित्रको बुवालाई आफ्नो छोराले धेरै राम्रो गरेको हेर्ने रहर जस्तै मलाई पनि नेपालको उन्नति भएको हेर्ने आतुरी छ । त्यसैले होला “नया” नेपालबाट एकदमै आशाबादी भएको । हो आशाबादी हुनु पर्छ, तर आशाको पूर्णताको लागि समय पनि दिनु पर्छ ।
नेपालको हालसालका खबरहरुमा नराम्रा पक्ष खोताल्ने भए मनग्गे भेटिन्छ, धेरै समाचार स्रोत र ब्लगहरुले नराम्रो खबर नै पस्किन्छन् । कारण: राम्रो भन्दा प्रोपोगान्डा सहितका नकारात्मक खबरहरु नै बढि बिक्छन्, र शायद नकारात्मक खबर लेख्न साधरणतय सजिलो पनि हुंदो हो । तर केही समयको लागि हामी खोताली खोताली भए पनि राम्रो खबर मात्र पढ्ने/लेख्ने कि ? हरेक घटनामा राम्रा पक्षहरुको खोजी गर्ने कि, घटना चाहे जति नै नकारात्मक भए पनि ?


